त्यसपछिको घटनाक्रमले उज्यालो हुन नपाउँदै अँध्यारो भएझैं भयो । भ्रष्टाचारका घटना बाहिरिए, गुणस्तररहित मेडिकल सामग्री ल्याइयो । जसरी सिनेमामा गज्जबको फिक्सन सिर्जना गरेर दर्शकलाई रनभुल्ल पारिन्छ, त्यसैगरी सरकारले फिक्सन सिर्जेर आमनागरिकलाई ठूलो भ्रममा राख्ने राजनीति गर्यो । भ्रष्टाचारलाई छोप्न अनेक हत्कण्डा ल्याइयो । राष्ट्रवाद प्रयोग गरियो । जबकि आफूलाई प्रमाणित गर्ने उत्तम अवसर थियो सरकारसँग । तर ठ्याक्कै उल्टो भयो, महामारीलाई झोला भर्ने मौकाका रूपमा प्रयोग गरिएको प्रस्ट देखियो । १० वर्षपछि हाम्रो प्रधानमन्त्री को होलान् भन्ने चिन्ताले घरी–घरी सताउँछ ।
राज्य त चुक्यो नै तर समाजका अन्य तप्का जस्तै सिनेमाका सेलिब्रेटीले महामारी दौरान जिम्मेवारीबोध नगरेको गुनासो सुनियो नि ?
व्यक्तिगत हिसाबले धेरै साथीहरूले केही न केही गर्नुभयो । आर्थिक सहयोग पनि भयो । तर हामी कलाकार मात्रै अगाडि बढ्ने कि सरकारसँग समन्वय गर्ने भन्ने हुँदोरहेछ । हो, त्यो समन्वय हुन सकेन । भूकम्प दौरान सेलिब्रेटी आफैं अग्रसर हुँदा लोकप्रियता वा निहित स्वार्थका लागि पो हो कि भनेर शंकाको दृष्टिले हेरिएको थियो । त्यसैले यसपालि कतिपय कलाकार सजग भए । सरकारले बोली बिक्ने वा सामाजिक सेवामा तल्लीन कलाकारलाई जिम्मेवारी दिएको भए प्रभावकारी हुन्थ्यो ।
हाम्रा कलाकारको समाजचेत कत्तिको छ ?
समाज र हामी निकै छुटिसकेका छौं । समाज धेरै बुझेको छौं भन्ने भ्रम मात्र हुन्छ । माथि–माथि उडिरहेका हुन्छौं । समाजको भित्री तहमा पस्नै सकेका छैनौं ।
लकडाउनकै बेला एकपछि अर्को विवाद जन्मियो । यसले फिल्मकर्मीको छवि निर्माणमा कस्तो असर पर्ला ?
जति विषय उठे, बहस र छलफल हुनु जरुरी थियो । तर, लकडाउनमा हामी घरभित्रै थियौं, बाहिरको दुनियाँ नियाल्न सकेनौं । सामाजिक सञ्जालको अधिक प्रयोग गरियो । बढी प्रतिक्रियात्मक भइयो होला । जब लोकप्रिय हुन्छौं, कहिलेकाहीं मेरो लोकप्रियता घट्यो कि भन्ने चिन्ता हुँदोरहेछ । फेसबुकतिर आउने प्रशंसाबाट हामी उचालिँदो रहेछौं, मानवीय स्वभाव होला । तर, आफ्नोभन्दा फरक टिप्पणी आउनेबित्तिकै आतिन्छौं । त्यसलाई सम्हाल्न खोज्दा झन् धेरै बिग्रदै जाँदोरहेछ । कि बोल्नै भएन, बोलेपछि सहमत/असहमतलाई स्विकार्नु पर्यो । जानेर/नजानेर हामीले गलत गरिरहेका छौं । कलाकारले सामाजिक सञ्जालमा पोस्ट गर्ने कन्टेन्ट र शैली केही अस्वस्थकर पो छ कि, ख्याल गर्नुपर्ने भएको छ ।