दशैं तिहार लक्षित गरेर सुदूरपश्चिम प्रदेशभित्र आठवटा सुपथ मुल्य पसल खुलेका छन् ।
सोमबारदेखि सुपथ मुल्य पसलबाट दैनिक उपभोग्य सामान विक्रीवितरण गर्ने गरी पसल सञ्चालनमा ल्याइएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले सुदूरपश्चिममा आठवटा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ।
कैलालीको धनगढी, अत्तरिया र टीकापुरमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगर र वेलौरीमा पनि पसल खोलिएको छ ।
पहाडी जिल्ला डडेल्धुरा, बैतडीको पाटन र डोटीको दीपायलमा पनि सुपथ मुल्य पसल खोलिसकेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख वासुदेव उपाध्यायले बताए । कात्तिक २२ गतेसम्म सुपथ मुल्य पसल सञ्चालन हुने उनले बताए ।
धनगढी र अत्तरियामा खोलिएका सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो एक सय २ रुपैयाँ ५० पैसामा पाइने छ । दीपायल र पाटनमा भने प्रतिकिलो एक सय १०, डडेल्धुरामा एक सय ५, महेन्द्रनगरमा एक सय ४ र टीकापुरमा एक सय ५ रुपैयाँ पर्नेछ । सुपथ मुल्य पसलबाट चिनी प्रतिव्यक्ति २ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ । त्यस्तै नुन प्रतिकिलो २४ रुपैयाँ तोकिएको छ । नुन प्रतिव्यक्ति ६ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ ।