बाख्रापालन व्यवसाय गर्दै आएका किसानलाई लक्ष्य गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने (हिट सिङ्क्रोनाइजेसन) प्रविधिको शुरुआत गरेको छ। गल्याङ– ७ का ललित थापाको बाख्रा फर्ममा यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो।
बाख्राको प्रजनन अङ्गमा सिआइडिआर राखेपछि हर्मन उत्पन्न भई बोका खोज्ने हुँदा यो प्रविधि निकै महत्वपूर्ण भएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए। पहिलो पटक १४ बाख्रामा यो प्रविधिको प्रयोग गरिएको र पछि थप एक सय वटामा गरिने योजना छ।
बाख्रालाई आफूले स्याहारसुसार गर्न अनुकूल हुने सयममा पाठापाठी उत्पादन गर्नका लागि यो प्रविधिको प्रयोग गरिन्छ। यसरी बाख्रालाई समयअनुकूल बोका खोज्ने बनाउनका लागि निरोग बाख्राका साथै सुत्केरी भएको दुई महिना पुगेको बाख्रा छनोट गरेर आन्तरिक परजीवीको औषधि र मिनरल खुवाएको २० दिनपछि बाख्राको प्रजनन अंगबाट सिआइडिआर योनीमा राखिन्छ। यसलाई राखेको १७ दिनपछि निकालेर अर्को हर्मोन ल्युटिनाइज बाख्राको शरीरमा लगाइन्छ। यो लगाइएको ४८ घण्टामा बाख्राले पूर्ण रुपमा बोका खोज्ने र बोयर जातको बोका लगाइने पशु शाखाका अधिकृत अर्यालले बताए।
यस क्षेत्रमा काम गर्ने चिकित्सक र प्राविधिकको कमी तथा हर्मोन महंँगो हुनाका साथै सहज रुपमा पाउन गाह्रो हुने भएकाले किसानसमक्ष प्रविधि आउन नसकेको अर्यालको भनाइ छ। व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानले यो प्रविधिको प्रयोग गर्न सकेमा धेरै फाइदा लिन सक्ने देखिन्छ। यो प्रविधिको सबैभन्दा महत्वपूर्ण पक्ष किसानले आफूलाई अनुकूल हुने समयमा पाठापाठी उत्पादन गर्ने सकिने हुन्छ। साउन, भदौ, पुस र माघमा बाख्राले बच्चा जन्माउँदा राम्रोसँग हुर्काउन नसकिने हुनाले यीबाहेक अन्य महिनामा बाख्रालाई सुत्केरी बनाउन सकिन्छ। यो प्रविधिको प्रयोग गर्नका लागि बाख्रा सुत्केरी भएको कम्तीमा दुई महिना पुगेको र निरोग हुनुपर्छ।
नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरपालिकालाई कृषिमा आत्मनर्भर गराउने योजनानुसार काम भइरहेको बताउँदै किसानका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले नगरभित्र रहेका कृषकलाई व्यावसायिक रुपमा काममा लाग्ने हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न प्रकारका अनुदानका कार्यक्रम सञ्चालन हुँदै आएको जानकार दिए। नगरपालिकाले कृषकलाई अदुवा र च्याउ खेतीका लागि निःशुल्क बीउबिजन वितरण गर्नाका साथै दूध बिक्री गर्ने किसानलाइ अनुदानको व्यवस्था गरेको जनाइएको छ।