विश्वमा थुप्रै प्राणिहरु आफ्नो जीवन निर्बाह गरि रहेका छन त्यस्तैमा मानव प्राणी पनि एक हो अरु प्राणी भन्दा सर्बश्रेस्ठ कहलिएको मानव प्राणी आफ्नो बौद्धिकताले प्रकृतिलाई आफ्नो अनुकुलन उच्चतम सदुपयोग गर्ने सीप र कलाले नै सर्बश्रेस्ठ कहलिएको हो । प्रकृति को अधिकतम सदुपयोग गरेर बर्तमान पस्चिमी रास्ट्रहरुले अर्थ उपार्जनमा जोड दिए त्यसले विश्वमा बिकास भै युग नै परिवर्तन भएको छ र हाल त्यसैमा प्रतिस्पर्धा चलेको मान्न सकिन्छ जसले बर्तमान बिस्वको परिवर्तनको गति दिनानुदिन बढेको देख्न सकिन्छ तर बिकास देखि टाढा रहेका वा बिकासलाइ पछी मात्रै चिनेका आदिवासी समुदायहरु जल, जंगल, जमिनमा आफ्नो प्राचीन सीपलाई जीवन निर्वाह र वातावरण अनुकुलनमा सधैं प्रयोग गर्दा अनौठा अनौठा प्रचलनको बिकास भएको सुनिन्छ, देखिन्छ । त्यस्तै वातावरण अनुकुलनमा आदिवासी रानाथारुहरुको “डेँगा डेँगन” प्रचलन एउटा अनुपम उदाहरण हो ।
हालको सुदुरपस्चिम प्रदेशको तराई भुभागमा आदिवासीका रुपमा जीवन निर्वाह गरिरहेका रानाथारु समुदाय बर्तमान बिकासको नाममा अंग्रेजले सन १९२८ पछि बनबसा पुल निर्माण पछि काठ ओसार्न नेपालमा पनि रेल चलाएको मात्रै देखेका थिए । त्यो भन्दा पहिला बिकास के हो, दुनियाँ के हो समेत राम्ररी थाहा नभएका, आफ्नै सेरोफेरोमा पुस्तौंदेखि जीवन निर्बाह गर्दै आएको आदिवासी राना समुदायको जीवन कस्तो होला कल्पना गर्न सकिन्छ । तराईका फाँटमा घनघोर जंगल छेउमा माछा बढी पाइने नदि आसपास बस्ती बसाइ जीवन निर्बाह गर्ने राना समुदाय तत्कालीन बर्षा याममा, हिलोमाटोमा, बर्सात लागे पछि तराईमा बिषालु सर्पको बिगबिगी, किरामकोरा बाट समेत बच्नु पर्ने बेला कसरी एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्ने भनेर गजबको तरिका अपनाउने रहेछन । हालको जस्तो जुत्ता चप्पल नभएको बेला काँडाकुँडीमा हिँड्नुपर्ने बाध्यता लाई सहज तुल्याउन पौला (खराउ) बनाए, त्यस्तै हिलोमा हिँड्न र बर्षा याममा सर्पहरु बाट बच्न डेँगा बनाउने गर्थे । रानाथारु समुदायमा महिलाहरुले घरधन्धो, घरमै बसेर काम गर्नुपर्ने र पुरुषहरुले घर बाहिरको काम गर्नुपर्ने भएकाले तत्कालीन समाजिक परिवेशमा पुरुषहरुले नै पौला, डेँगा बनाउने र लगाउने गर्थे । काठका लामा लट्ठीमा उपयुक्त उचाइमा पैतला राख्न मिल्ने गरि काठकै चौडा किला (खुटी) ठोकेर डेँगा बनाउने गरिन्छ र त्यही किलामा खुट्टा टेकि हिँडडुल गर्नु लाई डेँगा डेँगन भनिन्छ ।
रानाथारु भासामा “डेग” शब्दको अर्थ पाइला हुन्छ त्यसैले डेँगा को अर्थ पाइलाको सहारा बुझ्न सकिन्छ । बर्सातको हिलोमा प्राय: सबै पुरुषहरु डेँगा डेँग्ने गर्थे । जमिनको हिलो सतहबाट उचाइमा हुँदा खुट्टा सड्ने, सर्प, जुकाहरुबाट समेत बच्न डेँगा डेँग्नु पर्थ्यो भनेर पिपरियाका वृद्ध कढेरा रानाले स्मृति सुनाए । पहिला पहिला सबैको घर घरमा पाइने डेँगा आज्कल भेट्न दुर्लभ भैसके पनि २०७४ फागुनमा भएको खखडेहरा महोत्सवमा पुनपा १ ढक्काका स्थानीय राम गुलाब रानाले लगभग ७-८ फिट माथी डेँगा डेँगेर आश्चर्यचकित पारेका थिए । उनको उक्त नमुना कलाले बिगतको रानाथारु प्राचीन कला प्रस्ट्याएको थियो । बर्तमान समयमा डेँगा डेँग्नु निकै दुर्लभ र गाह्रो भएतापनी तत्कालीन समयमा रानाथारुहरु निकै सिपालु थिए र उनिहरु बिच डेँगामै प्रतिस्पर्धा समेत हुनेगरेको पुरन रानाले बताउनु भयाे ।
# लेखक नारायण राना, राना कला सँस्कृति सँरक्षण तथा विकास मञ्चका अध्यक्ष हुन ,