नेपाल सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।
अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्न/नगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् ।
सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासनले जहिले र जसरी रोक लगायो त्यसैअनुसार नियम लागू हुनेछ । उहाँले भन्नुभयो, ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोभिड व्यवस्थापन समिति छ । त्यही समितिले आवश्यक निर्णय गर्न सक्छ ।’
साथै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ । अहिलेसम्म कुनै पनि डोज खोप नलगाएको भए तुरुन्तै लगाइहाल्न मन्त्रालयका प्रवक्ता कोइरालाले आग्रह गर्नुभयो । उहाँका अनुसार माघ ७ गतेसम्म कम्तीमा एक मात्रा भए पनि खोप लगाएको कार्ड वा कार्डको फोटो लिएर मात्रै सार्वजनिक ठाउँमा जान पाइनेछ ।