नाबालिग गायिकामाथि बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन्।जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
तनहुँका प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले तीन दिन लामो थुनछेक बहसपछि बिहीबार थुनामा पठाउन आदेश जारी गरेको हो।
२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
दर्ता लगत्तै अदालतले उनीसँग बयान लिएको थियो। शा र उनका म्यानेजर कृष्ण जोशीसँगको बयानपछि सरकारी वकिल र पीडित पक्षका निजी कानुन व्यवसायीले बहस गरेका थिए।
पल पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। पलका म्यानेजर कृष्ण जोशीसँग भने अदालतले एक लाख धरौटी माग गरेको छ।
यही घटनामा मतियारका रुपमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। घटना घटाउन सहज बनाइदिएको र घटना सार्वजनिक भएपछि ढाकछोप गर्न खोजेको आरोप उनीमाथि छ।