कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मा रहेको गौशाला व्यवस्थित गर्न धार्मिक महायज्ञ आयोजना हुने भएको छ । नगरपालिकाको कार्यालय, वडा नम्बर ४ को कार्यालय र ग्वासी समैजी गौ संरक्षण समितिको सयुक्त आयोजनामा महायज्ञ आयोजना गर्न लागिएको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २७ देखि चैत्र ३ गते सम्म धार्मिक महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख हेम राज ओझाले छाडा चौपायाको समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको गौशालालाई व्यवस्थित र प्रभावकारी बनाउन महायज्ञ आयोजना गर्न लागिएको बताए । उनले गाईको व्यवस्थापन कार्य जटिल भएकाले यसको संरक्षणका लागि जनतालाई जागरुक गराउन आवश्यक रहेको बताए । ‘हामी हिन्दु धर्म मान्छै । गाईको महत्व जनतालाई बुझाउन र गाई पाल्न समुदायलाई प्रोत्साहन गर्ने महायज्ञको उद्देश्य हुनेछ’ उनले भने ‘गौशालाबाट बाइप्रोडक्ट उत्पादनमा सहयोग पु¥याउन पनि महायज्ञले भूमिका खेल्ने अपेक्षा लिएका छौ ।’
उनले कृष्णपुर नगरपालिकाले गाई संरक्षणका लागि बनाइएको ऐनमा आवश्यक परिवर्तन गरेर काम गरिरहेको बताए । उनले नगरका ५ ठाउँमा गौशाला निर्माण गरेर करिब १५ सय गाईको संरक्षण गरिरहेको बताए । उनले नगरमा छिमेकी पालिकाबाट पनि गाई आउने क्रम नरोकिएकाले संरक्षणमा चुनौती रहेको बताए । उनले नगरपालिकाले मात्रै गौ संरक्षणमा खर्च गरेर नहुने भएकाले त्यसका लागि जनतामा गाई पाल्न प्रोत्साहन गर्नुका साथै गाई पालनबाट नै उत्पादन लिन सकिने गरी व्यवस्थापन गर्न नगरपालिका अग्रसर भएको बताए ।
‘अनुत्पादक रहेका गाईलाई संरक्षण गरेर त्यसबाट उत्पादन लिनको लागि पनि महायज्ञले सहयोग पुग्ने अपेक्षा लिएका छौ’ उनले भने ‘सामाजिक कार्यमा जनतालाई जागरुक गर्न महायज्ञले ठूलो भूमिका खेल्छ ।’ उनले नगरपालिका गाई संरक्षणका काममा व्यवस्थित तरिकाले लागेकाले महायज्ञले त्यसलाई थप व्यवस्थित गर्न मदत पुग्ने बताए । कृष्णपुरमा हाल नगरपालिकाले वडा नम्बर १ को निगाली, २ को बनारा र गडमिल्ला, ४ को किचाई र वडा नम्बर ५ को वनदेवीमा गौशाला निर्माण गरिएको छ ।
नगरपालिकाले लालझाडी गाउँपालिकाको साझेदारीमा पनि गौ संरक्षण गरिरहेको जनाएको छ । नगरपालिकाले गाई संरक्षणका लागि यस वर्ष ४० लाख बजेट विनियोजन गरेको छ । नगरप्रमुख ओझाले गाई संरक्षणमा लगाएको लगानीको प्रतिफल लिने ध्येयका साथ अहिले नगरपालिका अगाडि बढेको बताए ।
गौशाला संरक्षण समितिका अध्यक्ष गणेश खड्काले महायज्ञ पैसा आर्जन गर्नको लागि मात्रै नभएको बताए । उनले महायज्ञबाट स्थानीयलाई गाई नछोड्न र हाल गौशालामा भएको गाईलाई पुनः घरमा लगेर पाल्नको लागि जागरुक गर्ने बताए । गौशाला संरक्षण समितिका कोषाध्यक्ष जगदिश भट्टले धार्मिक महायज्ञ सफल पार्नको लागि भक्त बहादुर खड्काको संयोजकत्वमा मूल समिति गठन गरिएको बताए । उनले हाल महायज्ञको लागि कलश सङ्कलनको काम जारी रहेको बताए ।