प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा दिनप्रतिदिन बढ्दै गएको लागू औषध दुर्व्यसन र त्यसबाट उत्पन्न अपराध नियन्त्रणका लागि सरकारले ठोस नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले लागू औषध दुर्व्यसनका कारण युवा पुस्ता कुलतमा फस्दै गएको र समाजमा अपराध दर बढिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले विशेष गरी नेपाल–भारत सीमा क्षेत्रका जिल्लाहरूमा लागू औषध तस्करी रोक्न थप प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
सांसद तामाङले काठमाडौँ उपत्यका प्रहरी कार्यालयद्वारा यही फागुन १७ गतेदेखि सुरु गरिएको लागू औषधविरुद्धको महाअभियानप्रति आभार व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो। साथै, उहाँले यस्तो अभियान सीमावर्ती जिल्लाहरूमा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
तामाङका अनुसार सीमावर्ती जिल्ला कञ्चनपुरमा मात्र चालू आर्थिक वर्षको आठ महिनामा ९९ वटा लागू औषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। सोही अवधिमा १५७ जना पक्राउ परेका छन् भने २२ किलो चरेस र २७६ ग्राम ब्राउन सुगर बरामद भएको छ। कञ्चनपुर कारागारमा रहेका कैदीहरूको करिब ४५ प्रतिशत लागू औषध सम्बन्धी अभियोगमा जेलमा रहेको तथ्यांकले यो समस्या गम्भीर बन्दै गएको देखाउँछ।
यस परिस्थितिलाई ध्यानमा राख्दै सांसद तामाङले लागू औषधविरुद्धको अभियान देशभर तीव्र रूपमा सञ्चालन गर्न, कञ्चनपुर लगायतका सीमावर्ती जिल्लामा विशेष निगरानी राख्न तथा लागू औषध अपराध नियन्त्रणका लागि कठोर नीति लागू गर्न नेपाल सरकारलाई निर्देशन (रुलिङ) गर्न सभामुख मार्फत गृहमन्त्रालय समक्ष आग्रह गर्नुभयो।